२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

एन्फामाथिको निलम्बन नफुकिए नेपाल अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने जोखिम, एएफसीको चेतावनी

एन्फामाथिको निलम्बन नफुकिए नेपाल अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने जोखिम, एएफसीको चेतावनी

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको फिफाको निलम्बन समयमै फुकुवा नभए नेपालले आगामी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ।

    एशियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई पत्र पठाउँदै सन् २०२७ सम्म तय भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन फिफाको निलम्बन तोकिएको समयसीमाभित्र हट्नुपर्ने स्पष्ट पारेको हो।

    एएफसीका महासचिव बाटुक सेरी विन्डसर जोनले एन्फाका महासचिव किरण राईलाई पठाएको पत्रमा फिफाले २४ जुन २०२६ देखि अर्को निर्णय नभएसम्म एन्फालाई निलम्बनमा राखेकाले नेपालका राष्ट्रिय टोली र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य रहेको उल्लेख गरिएको छ।

    पत्रअनुसार एन्फाले २०२६/२७ सिजनका विभिन्न एएफसी प्रतियोगिताका लागि सहभागिताको आवेदन (इन्ट्री) गरिसकेको जानकारी एएफसीलाई प्राप्त भएको छ। तर फिफा काउन्सिलको निर्णयअनुसार निलम्बन अवधिभर एन्फाले सदस्यका रूपमा प्राप्त सबै अधिकार गुमाएको छ। फिफा विधानको धारा १३ बमोजिम निलम्बन कायम रहुञ्जेल नेपालका राष्ट्रिय तथा क्लब टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्।

    एएफसीले तोकिएको समयभित्र निलम्बन नहटे नेपालका टोलीहरू सम्बन्धित प्रतियोगिताबाट हटाइने चेतावनी पनि दिएको छ।

    एएफसीले सार्वजनिक गरेको समयसीमाअनुसार:

    • एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ मा सहभागिता कायम राख्न अन्तिम मिति २९ जुन २०२६ तोकिएको थियो। यो समयसीमा पार भइसकेको छ।
    • एएफसी यू–१७ महिला एशियन कप चीन २०२७ छनोट का लागि १३ जुलाई २०२६ भित्र निलम्बन फुकुवा हुनुपर्नेछ।
    • एएफसी यू–२० एशियन कप चीन २०२७ छनोट मा सहभागी हुन १ अगस्ट २०२६ भित्र फिफाको प्रतिबन्ध हटिसक्नुपर्ने एएफसीले जनाएको छ।

    फिफाले २४ जुन २०२६ मा जारी गरेको परिपत्र नम्बर १९६७ अनुसार एन्फामाथिको निलम्बन अर्को निर्णय नभएसम्म कायम रहनेछ।

    यदि तोकिएको समयभित्र निलम्बन फुकुवा भयो भने नेपालका राष्ट्रिय टोली तथा क्लबहरूले पुनः अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। तर निलम्बन यथावत् रहे नेपाल सम्बन्धित एएफसी प्रतियोगिताबाट औपचारिक रूपमा बाहिरिने अवस्था आउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend