पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम–१६ बाटै बाहिरिएको छ। अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा आइतबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
विश्वकपमा चौथोपटक सहभागिता जनाएको नर्वेले इतिहास रच्दै पहिलोपटक अन्तिम आठमा स्थान बनाएको छ। यता ब्राजिल भने सन् १९९० पछि पहिलोपटक अन्तिम–१६ बाटै बाहिरिएको हो।
नर्वेको ऐतिहासिक जितका नायक स्टार फरवार्ड एर्लिङ हालान्ड बने। उनले खेलको ७९औँ मिनेटमा पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए भने ९०औँ मिनेटमा दोस्रो गोल थप्दै ब्राजिलको विश्वकप यात्रा टुंग्याए। हालान्डले यस प्रतियोगितामा सात गोल पुर्याउँदै गोल्डेन बुटको दौडमा पनि अग्रस्थान कायम राखेका छन्।
ब्राजिलले इन्जुरी समयको १०औँ मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि हार टार्न सकेन। यसअघि खेलको पहिलो हाफमै ब्रुनो गुइमाराएसको पेनाल्टी नर्वेका गोलरक्षक ओर्जान निल्यान्डले बचाएका थिए, जुन खेलको निर्णायक क्षण बन्यो।
विश्वकप इतिहासमा ब्राजिलविरुद्ध नर्वेको अपराजित यात्राले पनि निरन्तरता पाएको छ। यी दुई टोलीबीच विश्वकपमा भएका पाँच भेटमध्ये नर्वेले तीन खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगिएका छन्।
अब नर्वेले क्वाटरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीच हुने अन्तिम–१६ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।