अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई व्यक्तिगत रूपमा फोन गरी अमेरिकी राष्ट्रिय टोलीका स्ट्राइकर फ्लोरियन (फोलारिन) बालोगुनमाथिको एक खेलको प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेपछि विश्व फुटबलमा नयाँ विवाद सुरु भएको छ।
आइतबार फिफाले बालोगुनमाथि लगाइएको एक खेलको निलम्बन तत्काल लागू नगर्ने निर्णय सार्वजनिक गर्यो। यससँगै बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध रातो कार्ड पाएका बालोगुन अब बेल्जियमविरुद्धको फिफा विश्वकप–२०२६ अन्तिम १६ को खेल खेल्न योग्य भएका छन्।
निर्णय सार्वजनिक भएपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा फिफालाई धन्यवाद दिँदै लेखे, “सही निर्णय गरेर ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद।” त्यसपछि द न्यूयोर्क टाइम्स ले ट्रम्पले केही दिनअघि इन्फान्टिनोलाई फोन गरी अमेरिकाका प्रमुख गोलकर्तामाथिको प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ।
बेल्जियमको कडा आपत्ति
फिफाको निर्णयप्रति रोयल बेल्जियन फुटबल एसोसिएसनले कडा असन्तुष्टि जनाएको छ। संघले यो निर्णय फिफाकै नियमविपरीत रहेको दाबी गर्दै विषयलाई ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स’ (CAS) सम्म लैजाने विकल्पबारे अध्ययन गरिरहेको जनाएको छ।
बेल्जियमको दाबीअनुसार फिफा अनुशासन संहिताको धारा ६६.४ तथा विश्वकप प्रतियोगिता नियमावलीको धारा १०.५ ले रातो कार्ड पाउने खेलाडीलाई स्वतः अर्को खेल गुमाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यही नियम यस विश्वकपका अन्य सबै खेलाडीमा लागू गरिएको भन्दै बालोगुनका हकमा फरक निर्णय गरिएकोमा प्रश्न उठाइएको छ।
फिफाले के भन्यो?
फिफाले जारी गरेको विज्ञप्तिमा अनुशासन संहिताको धारा २७ अन्तर्गत बालोगुनमाथिको एक खेलको प्रतिबन्धको कार्यान्वयन एक वर्षका लागि परीक्षणकाल (प्रोबेसन) मा स्थगित गरिएको जनाएको छ।
फिफाका अनुसार यदि उनले उक्त अवधिमा पुनः यस्तै प्रकृतिको अनुशासनहीन व्यवहार दोहोर्याए भने हाल स्थगित गरिएको प्रतिबन्ध स्वतः लागू हुनेछ र नयाँ कसुरका लागि थप कारबाही पनि गरिनेछ।
सामाजिक सञ्जालमा चर्कियो बहस
निर्णय सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा ट्रम्पको हस्तक्षेपकै कारण फिफाले निर्णय परिवर्तन गरेको चर्चा व्यापक बन्यो।
बारस्टुल स्पोर्ट्सका संस्थापक डेभि पोर्टनोइले निर्णय आउनुअघि नै एक्स (पूर्व ट्विटर) मा “रातो कार्ड चाँडै उल्टिन सक्छ” भन्ने संकेत गरेका थिए। निर्णयपछि उनले ट्रम्पसँगको सम्पादित तस्बिर सार्वजनिक गर्दै व्यंग्यात्मक रूपमा लेखे, “धेरैले यो रातो कार्ड कसरी उल्टियो भनेर सोधिरहेका छन्। तर राम्रो पत्रकारले आफ्ना स्रोत कहिल्यै खुलाउँदैन।”
अमेरिकी टोली खुसी, प्रशिक्षक टाढै
अमेरिकी पुरुष राष्ट्रिय टोलीले फिफाको निर्णयलाई स्वागत गर्दै बालोगुन बेल्जियमविरुद्ध खेल्न पाउने भएकामा खुसी व्यक्त गरेको छ।
यद्यपि मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले भने बालोगुनको निलम्बनविरुद्धको प्रक्रियामा आफू कुनै रूपमा संलग्न नरहेको स्पष्ट पारे। उनले आफ्नो सम्पूर्ण ध्यान बेल्जियमविरुद्धको खेलको तयारीमा केन्द्रित रहेको बताए।
द डेली मेल का अनुसार अमेरिकी टोलीलाई आइतबार बिहानै निर्णयबारे जानकारी गराइएको थियो। तर खेलाडीहरूलाई औपचारिक रूपमा तत्काल जानकारी नदिइएकाले धेरैले सामाजिक सञ्जालमार्फत मात्र यसबारे थाहा पाएका थिए।
नियमले के भन्छ?
फिफा विश्वकप प्रतियोगिता नियमावलीको धारा १०.५ अनुसार कुनै खेलाडीले प्रत्यक्ष रातो कार्ड पाएमा उसले स्वतः अर्को खेल गुमाउनुपर्ने व्यवस्था छ। यसअघि फिफाका अधिकारीहरूले पनि यस्ता निलम्बनविरुद्ध औपचारिक अपिल गर्न नपाइने जानकारी दिएका थिए।
तर यसपटक फिफाको न्यायिक समितिले अनुशासन संहिताको धारा २७ अन्तर्गत रहेको विशेष प्रावधान प्रयोग गर्दै बालोगुनमाथिको प्रतिबन्धको कार्यान्वयन स्थगित गरिदिएको हो। यही प्रावधान यसअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको अनुशासनिक कारबाहीमा पनि प्रयोग गरिएको थियो।
बालोगुनको प्रतिबन्ध स्थगित गर्ने निर्णयसँगै फिफाको निर्णय प्रक्रिया, नियमको समान कार्यान्वयन र राजनीतिक प्रभावबारे विश्व फुटबलमा व्यापक बहस सुरु भएको छ।