काठमाडौं- विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल 'निम्सदाइ' पुर्जा को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा निधन भएको पुष्टि भएको छ। दुर्घटनामा उनी नेतृत्वको सम्पूर्ण आरोहण टोलीको ज्यान गएको आरोहण संस्था एलाइट एक्स्पेडले शनिबार आधिकारिक रूपमा जनाएको हो।
एलाइट एक्स्पेडद्वारा जारी शोक वक्तव्यअनुसार निम्सदाइसँगै उनका अनुभवी सहकर्मी तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पासहित टोलीका सबै सदस्यले ज्यान गुमाएका छन्। संस्थाले यसलाई पर्वतारोहण समुदायका लागि अत्यन्त पीडादायी र अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
वक्तव्यमा निम्सदाइलाई साहसी, प्रेरणादायी र असाधारण पर्वतारोहीका रूपमा स्मरण गरिएको छ। उनले आफ्नो अदम्य साहस, विनम्रता र "मानवीय क्षमता असीमित छ" भन्ने विश्वासमार्फत विश्वभरका लाखौँ मानिसलाई प्रेरित गरेको संस्थाले जनाएको छ।
निर्मल पुर्जाले एलाइट एक्स्पेडसँगै निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोर स्थापना गरी पर्वतारोहण, साहसिक खेल तथा सामाजिक सेवामा उल्लेखनीय योगदान दिएका थिए।
बिहीबारदेखि सम्पर्कविहीन
दुर्घटना पाकिस्तानको Broad Peak हिमाल आरोहणका क्रममा बिहीबार बिहान करिब ९ बजेतिर भएको थियो। हिमपहिरो गएपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको थियो।
टोली ब्रोड पिकको क्याम्प–२ र क्याम्प–३ बीच, करिब ६,६०० देखि ७,००० मिटर उचाइमा रहेको बेला हिमपहिरो आएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। चुचुरोतर्फ अघि बढ्ने क्रममा आएको शक्तिशाली हिमपहिरोले टोलीलाई करिब एक हजार मिटर तल बगाएको र त्यसपछि उनीहरूसँग सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
उद्धारकर्ताप्रति आभार
एलाइट एक्स्पेडले प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच पनि खोज तथा उद्धार अभियानमा खटिएका उद्धारकर्मी, स्थानीय निकाय तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।
निर्मल 'निम्सदाइ' पुर्जाको निधनले नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले एक असाधारण आरोही, साहसी नेतृत्वकर्ता र प्रेरणादायी व्यक्तित्व गुमाएको प्रतिक्रिया विश्वभरबाट आइरहेको छ।