गोरखा-मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको आधार शिविरमा आएको हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजुकुमार श्रेष्ठका अनुसार धार्चे गाउँपालिका–२ केरौँजाका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ हिमपहिरोमा परी शनिबारदेखि सम्पर्कविहीन छन्।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पर्वतारोहीका सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका दुवै जना हिमपहिरोपछि सम्पर्कविहीन भएका हुन्। वीरेन्द्र हिमालयन होलिडेज कम्पनीका बेसक्याम्प सहयोगीका रूपमा र आशबहादुर इम्याजिन नेपाल एक्सपिडिसन प्रालिमार्फत गाइड तथा कुकम्यानका रूपमा काम गर्न त्यहाँ पुगेका थिए।
करिब ३२ वर्षीय वीरेन्द्रका बुवा, श्रीमती तथा साना दुई छोरा छन्। ४५ वर्षीय आशबहादुरकी श्रीमती र छोराछोरी काठमाडौंमा बस्दै आएका छन् भने घरमा वृद्ध आमा रहेको आफन्तले बताएका छन्।
प्रहरीका अनुसार हिमलुङ आधार शिविरमा आएको हिमपहिरोमा १६ जना बेपत्ता भएकोमा दुई जनाको शव फेला परी सनाखत भइसकेको छ। गोरखाका वीरेन्द्र र आशबहादुरको भने अझै अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
समुद्री सतहदेखि करिब ४ हजार ८७५ मिटर उचाइमा रहेको हिमलुङ आधार शिविरमा बेपत्ताको खोजीका लागि नेपाल राष्ट्रिय पथप्रदर्शक संघ र पर्वतारोहण सञ्चालक संघबाट १४ जनाको उद्धार टोली परिचालन गरिएको छ।
घटनाका बेला हिमपहिरोबाट जोगिएका १४ जनाको टोली फूबाट आधार शिविरतर्फ गएको पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुल्सिङ गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले मौसम खुलेकाले खोजी कार्य केही सहज भएको छ। तर आधार शिविर क्षेत्रमा हिउँ बाक्लो रहेकाले बेपत्ताको खोजीमा समय लाग्न सक्ने बताइएको छ।
बेपत्ताका परिवार तथा आफन्तले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिई यथाशीघ्र अवस्था सार्वजनिक गर्न आग्रह गरेका छन्।