२०८३, आश्विन १३ गते

समय लोड हुँदैछ...

बागलुङमा पहिरोबाट १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङमा पहिरोबाट १० जनाको मृत्यु, एक बेपत्ता

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • पोखरा-अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

    असोज १० र ११ गते परेको अविरल वर्षाका कारण जिल्लाका तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरोले घर पुरिँदा मानवीय तथा भौतिक क्षति भएको हो।

    प्राप्त विवरणअनुसार तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ। सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता भएकी छन्।

    त्यस्तै, तमानखोला–३ धनारकुकमा पहिरोमा परी ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ।

    निसीखोला गाउँपालिका–६ सेलवाङमा ५० वर्षीय सूर्यबहादुर घर्तीको पहिरोमा परी मृत्यु भएको छ।

    यसैगरी, निसीखोला गाउँपालिका–३ कन्केखरियामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन्।

    त्यस्तै, ताराखोला गाउँपालिका–५ धरर्मरमा ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

    अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा घर तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायको समन्वयमा उद्धार, राहत तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ।

    प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ। मौसम तथा भौगोलिक अवस्थाका कारण प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend