काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र २६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म विभिन्न स्थानमा विपद्का घटना भएका हुन्।
प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी पहिरोका ९७ घटना भएका छन्। पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन्।
त्यस्तै, अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएका छन्।
बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै, अविरल वर्षाका घटनामा ७०० जनाको उद्धार गरिएको छ।
विपद्का कारण देशभर ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ। प्राधिकरणका अनुसार यी घटनाबाट अनुमानित एक करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
पछिल्लो २४ घण्टामा भएका विपद्का घटनामध्ये पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार, खोजी तथा राहतका कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।